Thaha

Sunday 22 September - 3:18 am NST

नेपालमा नयाँ संविधान आउनु उपलब्धिमूलक : मोदी

काठमाण्डौं, फागुन ८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दशकौंदेखीको संघर्षपछि नेपालमा नयाँ संविधानको घोषणा हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । नयाँ संविधानको सफलता सहमति र संवादमा निर्भर रहेको भन्दै मोदीले यसै सिद्धान्तका आधारमा राजनीतिक वार्ताको माध्यमबाट सवै पक्षलाई समेटेर नेपालले प्रगति गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

हैदरावाद हाउसमा भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले भारतले नेपाली नागरिकका आशा, आकांक्षा, जागरुकता र विवेकको सधैं सम्मान गर्ने बताउनुभयो । नेपालको जलविद्युत नेपालका लागि मात्रै नभएर भारतको उर्जा संकट समाधानमा पनि सहयोगी हुने भन्दै त्यसका लागि मिलेर काम गरिरहेको उहाँको भनाई छ ।

नेपालको स्थिरता भारतको सुरक्षासँग जोडिएको भन्दै प्रधानमन्त्री मोदीले दुईदेशवीचको खुला सिमा आतंकवादी र अपराधिहरुलाई दुरुपयोग गर्न नदिईने बताउनुभयो । “यस सन्दर्भमा दुवै देशका सुरक्षा एजेन्सिहरुले सहयोग गर्नेछन् र सीमाको सुरक्षा व्यवस्था बनाउनेछन्” मोदीले भन्नभुयो ।

तस्वीर : भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपको ट्विटरबाट

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणले पछिल्लो समय दुई देशवीचको सम्बन्धमा देखिएको गलत बुझाईलाई अन्त्य गर्दै दशकौंदेखीको सम्बन्धलाई नयाँ शिराबाट अगाडी बढाउने विश्वास व्यक्त गर्नुभयो ।  हैदराबाद हाउसमा भएको औपचारीक भेटवार्तामा दुबै देशका प्रधानमन्त्रीले पछिल्लो समयमा दुई देशबीचको सम्बन्धमा देखिएको चिसोपनाका कारणहरु बारे खुलेरै छलफल गर्नुभयो ।

उहाँहरुवीच नेपालमा जारी भएको संविधान, त्यसपछि सम्बन्धमा देखिएको चिसोपन, सीमा विवाद, मधेस आन्दोलन, सीमांकनको लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्र, भावी सम्बन्ध, पञ्चेश्वर आयोजनाको कार्यान्वयन, नेपालमा लगानी अभिबृद्धि, ब्यापारिक समस्यासहित सम्पूर्ण विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीले नेपालमा संविधान जारी भएपछि भारतले स्वागत नगर्दा आएको समस्या र त्यसले नेपालीको जनजीवनमा पारेको प्रभावको विषयमा कुराकानी राख्नुभएको थियो ।